
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले थालेको समावेशी र समतामूलक विकासको यात्रालाई निरन्तरता दिएको छ । समावेशी र समतामूलक विकासको लागि अपरिहार्य रहने कानुनी विधि र त्यसको कार्यान्वयनको सन्दर्भमा समीक्षा एवं कार्ययोजना तयार गर्नेतर्फ नरैनापुर लागिरहेको हो ।

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धि रणनीतिक योजना तयार गरेको नरैनापुरले त्यसको परीक्षण गरेको छ । समावेशी तथा उत्तरदायी स्थानीय शासन सुदृढीकरणका लागि लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणको अवस्थाबारे आत्ममूल्याङ्कन आवश्यक रहन्छ ।
नेपाल सरकारले जारी गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८० बमोजिम गाउँपालिकाको आयोजना तथा इन्नोभेसन हव प्रा.लि.को सहजीकरणमा आयोजित कार्यशालामार्फत परीक्षणअन्तर्गत साङ्केतीकरण गरिएको हो ।

कार्यशालामा गाउँपालिकाको नीति, कार्यक्रम, बजेट, योजना, संस्थागत संरचना, मानव संसाधन व्यवस्थापन, क्षमता विकास, सेवा प्रवाह, सुशासन तथा उत्तरदायित्वका विभिन्न सूचकहरूको विस्तृत समीक्षा गरिएको छ । साथै महिला, अपाङ्गता भएका व्यक्ति, दलित, मुस्लिम, मधेसी, थारु तथा अन्य सीमान्तकृत समुदायको स्थानीय शासन तथा विकास प्रक्रियामा सहभागिता र पहुँचको अवस्थाबारे समेत विश्लेषण गरिएको छ ।

लैससास परीक्षण स्थानीय तहको समग्र कार्यसम्पादनलाई लैङ्गिक तथा समावेशी दृष्टिकोणबाट मूल्याङ्कन गर्ने महत्वपूर्ण प्रक्रिया हो । यस परीक्षणले स्थानीय सरकारका नीति तथा कार्यक्रम कत्तिको समावेशी छन् भन्ने पहिचान गर्नुका साथै सुधारका क्षेत्र निर्धारण गरी आगामी कार्ययोजना निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यशालामा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद् शाह, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरूलगायतको सहभागिता थियो ।
कार्यशालाको सहजीकरण इन्नोभेसन हव प्रा. लि. का चन्द्रप्रकाश शर्माले गर्नुभएको छ ।
नरैनापुर गाउँपालिकाले प्रत्येक वर्ष नियमित रूपमा लैससास परीक्षण गर्दै आएको जनाएको छ। परीक्षणबाट प्राप्त नतिजाका आधारमा आगामी वर्षका नीति, कार्यक्रम तथा बजेटलाई थप समावेशी र परिणाममुखी बनाउने गाउँपालिकाको लक्ष्य छ ।




खबर बजार । २० आश्विन २०८३, मंगलवार ००:१२