f एमालेले निर्माण गरेका भवन बाढीपीडित १८ परिवारलाई हस्तान्तरण 

एमालेले निर्माण गरेका भवन बाढीपीडित १८ परिवारलाई हस्तान्तरण 

नुवाकोट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीपीडितका लागि पार्टीका स्वयंसेवकले निर्माण गरेको अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ ।

बिदुर नगरपालिकाको पिपलटारमा १८ परिवारलाई पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले आज घर–टहरा हस्तान्तरण गर्नुभएको हो ।

पिपलटारमा एमाले जनसंगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले १८ परिवारका लागि अस्थायी आवास निर्माण गरेको हो ।

भोटेकोशी बाढीपीडितको उद्धारदेखि नै सहभागी भएको एमाले जनसंगठन जिफन्टका स्वयंसेवकहरू अध्यक्ष बिनोद श्रेष्ठकै नेतृत्वमा नुवाकोटमा आवास निर्माणको काममा खटिएको थियो ।

सो टोलीले काम सम्पन्न गरेपछि अध्यक्ष ओली आफै फिल्डमा पुगेर हस्तान्तरण गर्नुभएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।

भुकम्प, बाढीपहिरोलगायत प्राकृतिक प्रकोप आउँदा एमालेले आफ्नै साधन-स्रोत र कार्यकर्ताको श्रम र सीपबाट विगत देखि नै यस्ता कार्य गर्ने गरेको छ ।

भोटेकोशी बाढीपछि राहत र पुनर्निर्माणको लागि राजनीतिक दलहरुमध्ये एमालेले सबैभन्दा धेरै एक करोड २० लाख रकम छुट्टयाएको छ ।