कर्फ्युपछि यस्तो छ, वीरेन्द्रनगरको अवस्था !

सुर्खेत । जिल्ला सुरक्षा समितिले कर्फ्यु आदेश जारी गरेपछि वीरेन्द्रनगरको वातावरण मंगलबार शान्त बनेको छ ।

प्रतिनिधि सभाबाट अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित भएको बिरोधमा आन्दोलन उग्र बनेपछि कर्फ्यु जारी गरिएको हो ।

मंगलबार साँझ ७ बजेसम्म जारी गरिएको कर्फ्युपछि जनजिवन शान्त बनेको हो । प्रदर्शनकारीहरू यसअघि जस्तो सडकमा छैनन् भने, सुरक्षाकर्मी ठाउँ-ठाउँमा परिचालित छन् ।

यसअघि सोमबार वीरेन्द्रनगरकाे मंगलगढी चाेकमा बन्दकर्ता र प्रहरी बिच झडप भएको थियोे भने स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्याँस हान्नुपरेकाे थियो ।

विभिन्न गल्लीबाट निस्केका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

बन्दकर्ताहरुले सुर्खेतमा विभिन्न पार्टीका कार्यालयहरुमा तोडफोड र आगजनी समेत गरेका छन् ।

उनीहरूले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा तोडफोड गरेका छन् भने, नेकपा (एमाले) को कार्यालयमा आगजनी गरेका हुन् ।