f आगामी ५ दिनको मौसम कस्तो ? हेर्नुहोस्...

आगामी ५ दिनको मौसम कस्तो ? हेर्नुहोस्…

काठमाडौं । यसपालि दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने पूर्वानुमान छ । कतैकतै हल्का वर्षा/हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज दसैँ विशेष मौसम बुलेटिन जारी गरेको हो ।

नेपालबाट मनसुन बहिर्गमन भइसकेकोले यस वर्षको दसैँ अवधिभर पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने महाशाखाले जनाएको छ ।

भोली, असोज ३१ गते (फूलपाती)

फूलपातीका दिन दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ । बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

देशका पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ । मधेस तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा समेत आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने तथा हिमाली भूभाग तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

फूलपातीका दिन राति हिमाली भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ । बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने तथा कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

कात्तिक १ (महाअष्टमी) 

महाअष्टमीका दिन दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ । मधेस तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  महाशाखाकाअनुसार देशको हिमाली भूभाग तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

महाअष्टमीका दिन राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने तथा तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

कात्तिक २, ३ र ४ (अष्टमी, महानवमी र विजयादशमी) 

कात्तिक २ देखि ४ गतेसम्म अर्थात् अष्टमीदेखि दसैँ टीका दिनसम्मको अवधिमा कोसी, वाग्मती र गण्डकीका हिमाली र पहाडीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाकाअनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।