

काठमाण्डौ । अस्ति बिहीवार राति उत्तराखण्डको रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ । पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।
भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार कालीकोट घर भइ गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो ।
बिहीवार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको छ ।
यस क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका सदस्यसहित काम गर्दै आएका छन् । यो ठाउँमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीमा रहेको दूतावासमार्फत् पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खबर बजार । २० श्रावण २०८०, शनिबार १७:३७