मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

मौसम :

आजदेखि पर्सिसम्म वर्षा र हिमपात हुने 

२ मिनेट पढाइ

काठमाडौं । आजदेखि पर्सि शनिवारसम्म वर्षा र हिमपात हुने भएको छ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

भारतबाट नेपालतर्फ सोझिरहेको प्रणालीको असरले मौसम बदली शुरु भएको छ । महाशाखाका अनुसार आजदेखि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम छ ।

आज दिउँसो मध्यमसम्मको वर्षा हुने र भरे बेलुकीदेखि पर्सि शनिवारसम्म केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा वर्षा शुरु भएर भोलि थप तीव्रताका साथ पानी पर्ने छ ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको पछिल्लो मौसमी बुलेटिनअनुसार देशका केही ठाउँमा भरेदेखि पर्सि शनिबारसम्म ठूलो वर्षा र हिमपात हुनेछ भने आइतवारदेखि मौसममा सुधार आउनेछ ।

कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै ठाउँमा मेघ गर्जन र चट्याङ तथा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका एक/दुई ठाउँमासमेत ठूलो वर्षा र हिमपातको सम्भावना छ ।

पर्सि शनिवारसम्म धान नकाट्न, उच्च हिमाली भूभागमा नजान र सुरक्षित ठाउँमा रहन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरुले सुझाव दिएका छन् ।