मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २० , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

खेलकुद :

गुराँस खेलकुद महोत्सवमा ‘फरक वडा-फरक खेल’

कहाँ के खेल ? हेर्नुहोस्...

२ मिनेट पढाइ

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा सञ्चालन भएको प्रथम खेलकुद महोत्सव फरक-फरक विधाअनुसार विभिन्न वडामा सञ्चालन गरिने भएको छ । विगतका वर्षहरूमा समेत खेलकुदका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको गुराँसले यस वर्ष भने जिल्लामै फरक र विशेष पहिचानसहित बृहत् खेलकुद महोत्सव आयोजना गरेको छ ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना हुने आसन्न १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महत्त्व बढाउन र युवाहरूलाई खेलकुदप्रति लगाव बढाउँदै दुर्व्यसनमुक्त गराउन गाउँपालिकाले विभिन्न विधाअनुसार फरक फरक वडामा प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले जानकारी दिनुभयो ।

स्थानीय युवाहरूको चाहना, रुचि र प्रतिभालाई मध्यनजर गर्दै गाउँपालिकाका विभिन्न वडामा फरक–फरक विधाका खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।

महोत्सवअन्तरगत फुटसल प्रतियोगिता गुराँस ३ पातिकान्लामा सञ्चालन भइरहेको छ । अब २ नम्बर वडामा भलिबल, ४ नम्बरमा व्याडमिन्टन र चेस तथा ८ नम्बर वडामा क्रिकेट प्रतियोगिता हुने गुराँस गाउँपालिकाका प्रवक्ता एवं ८ नम्बर वडा अध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिनुभयो ।

खेलकुद महोत्सवको पूर्वसन्ध्यामा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले खेलकुद लोगो अनावरण गर्नुभएको थियोे भने महोत्सवको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाइँ र प्रदेश सभा सदस्य पूर्णबहादुर खत्रीले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष शिवाकुमारी खड्का, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र गाउँ सभा सदस्यहरुको साथै राजनीतिक दलका प्रतिनिधि एवं युवा, खेल र शिक्षा सँग सम्बन्धित सरोकारवालाको सहभागिता थियोे ।