
सुर्खेत । कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । मंसिर १६ देखि २७ गते सम्म हुने प्रतियोगिताको लागि मूल आयोजक समितिले व्यवस्थापकीय तथा प्रचारप्रसारको कार्य तीव्र बनाएको हो ।

प्रतियोगितासँग सरोकार राख्ने निकयका प्रतिनिधिहरुसँग समन्वय एवं अन्य आन्तरिक र बाह्य व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश सरकार लागिरहेका छन् ।
तयारी बुझ्न र बैठकको लागि सुर्खेत आएको बेला शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सङ्घीय सरकार, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीचको समन्वय तथा सहकार्यमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्रोत परिचालन भइरहेको जानकारी दिनुभएको छ । उहाँले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
यसैगरी, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश सरकार सहआयोजक भए पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नु प्रदेशको प्रतिष्ठासँग जोडिएको विषय भएको बताउनुभएको छ ।
रङ्गशालाको पूर्वाधार निर्माणसम्बन्धी सबै काम पूरा भइसकेको जानकारी दिँदै उहाँले मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी तथा पाहुनाको बसोबास व्यवस्थापन र सबैका लागि सहज वातावरण निर्माणमा प्रदेश सरकार जुटिरहेको बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले प्रतियोगिताको प्रचारप्रसारलाई राष्ट्रव्यापी बनाउँदै भव्य रूपमा सम्पन्न गर्ने तयारीलाई तीव्र पारिएको बताउनुभएको छ ।