
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

चितवनका लागि डेभिड मलानले सर्वाधिक ३५ रन बनाउनुभयो । कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिसाराले १२ रन बनाउनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाउनुभयो ।
आजको जितपछि ७ अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
आजको जितसँगै चितवनले प्लेअफ सम्भावना बलियो बनाउँदा पहिलो संस्करणको विजेता जनकपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । जनकपुरसँगै कर्णाली याक्स र पोखरा एभेन्जर्स पनि प्लेअफ दौडबाट बाहिरिएका छन् ।
एनपीएलमा भोलि एक खेल हुनेछ । भोलि बेलुका ५ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।




