
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।
फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभर ३ बलमा बिना विकेट पूरा गरेको हो ।
सुदूरपश्चिमको जितमा जर्ज मुन्सीले ५४ बलमा अविजित १२५ रनको शतकीय इनिङ्स खेल्नुभयो । विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९, रोहित पौडेलले ३० र निरोशन डिकवेलाले २८ रन बनाउनुभयो ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिनुभयो भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिनुभयो ।
लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिम यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको थियो । यस पटक भने सुदूरपश्चिम उपाधि जित्न सफल भएको हो ।




