
काठमाडौं । मधेश प्रदेशमा दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्न लागेका सरोजकुमार यादवले अर्को हप्ताभित्र विश्वासको मत परीक्षण गर्नुहुने भएको छ ।

संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने भए पनि आफूले एक हप्ताभित्र विश्वासको मत लिने उहाँले जानकारी दिनुभएको छ ।
उहाँले आज पद तथा गोपनीयताको शपथ लिनुहुने छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ गराउने कार्यक्रम छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
शपथसँगै दोस्रो कार्यकाल सुरु गर्न लागेका यादवका लागि प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु अबको प्रमुख राजनीतिक चुनौती हुनेछ ।




