आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् भएकोतर्फ सचेत बन्नुपर्ने मुख्यमन्त्री शाहीको भनाई

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानव अधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगद्धारा आज सुर्खेतमा आयोजित कर्णालीमा मानव अधिकारको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले राज्यका निकायसंगै हरेक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानव अधिकारको संरक्षण हुने बताउनुभएको हो ।

मुख्यमन्त्री शाहीले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् भएकोतर्फ सचेत बन्नुपर्ने धारणा राख्नुभयो । संविधानमा सबैको हक अधिकारको सुनिश्चितता भएको भन्दै मुख्उमन्त्री शाहीले त्यसको पालनाका लागि राज्य, निजी क्षेत्र, नागरिक समाज सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्नुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता धु्रवकुमार श्रेष्ठले कर्णालीमा रोग, भोक, गरिबी नै मानव अधिकार संरक्षणमा चुनौति रहेको विचार व्यक्त गर्नुभयो ।

त्यस्तै, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले उद्योग, व्यवसाय क्षेत्रबाट आम उपभोक्ताको अधिकार संरक्षण एवं मानव अधिकारको प्रर्वद्धनमा सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अति विपन्न समुदायको मानव अधिकारका लागि संघले सामाजिक उत्तरदायित्वका विभिन्न काम गर्दै आएको उहाँको भनाई थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव हरि ज्ञवालीले कार्यक्रमको विषयवस्तुबारे जानकारी, आयोगका अनुसन्धानकर्ता प्रा।डा। गोविन्द सुवेदीले कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकको अधिकारका विषयमा प्रकाश पार्नुभयो । आयोगले आजदेखि वीरेन्द्रनगरमा सम्पर्क कार्यालय पनि सञ्चालनमा ल्याएको छ ।