विवादको उत्सर्गमा ‘प्रेमगीत ३’

काठमाडौं । इन्डो-नेपाली फिल्मका रुपमा प्रचारित ‘प्रेमगीत ३’ रिलिजको संघारमा आइपुग्दा तीव्र विवादमा फँसेको छ । चलचित्र हिन्दी भर्सनलाई लिएर कलाकर्मीहरु नै दुई धारमा बाँडिएका छन् ।नेपाली भाषामा निर्माण भएको यस चलचित्रलाई हिन्दीमा पनि डब गरिएको छ र भारतलगायत विश्वकै मेनस्ट्रिम मार्केटमा लैजाने दाबी गरिएको छ । विश्व बजारमा नेपाली चलचित्रको ढोका खुल्न सक्ने भएकाले ‘प्रेमगीत ३’ ले सबैको शुभेच्छा पाइरहेकै थियो । तर, विवाद तब सुरु भयो जब चलचित्रका नायक प्रदीप खड्काले प्रेसमिटमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग्नु भयो ।बोर्डले हालै जारी गरेको एउटा सूचनामा खड्काले आपत्ति जनाउनु भएको थियो । सूचना थियो, राति ११ बजेपछि हलहरुमा कुनै पनि शो चलाउन नपाइने सम्बन्धमा । ‘प्रेमगीत ३’ लाई असफल पार्नकै लागि भुवन केसीले यो नियम लगाउन खोजेको उहाँले आरोप लगाउनु भएको थियो । खड्काले केसीको पढाइमाथि पनि प्रश्न उठाउनु भयो र उहाँलाई राजीनामा दिन सुझाउनु भयो ।साथै ‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई ट्याक्स छुट दिन नखोजिएकोमा पनि उहाँको आपत्ति थियो । हिन्दीमा डब गरिए पनि यो चलचित्र नेपालीले नेपालमै बनाएकाले नेपाली चलचत्रिकै व्यवहार हुनुपर्ने उहाँको माग थियो । बोर्डले नेपाली ‘प्रेमगीत ३’ लाई ट्याक्स छुट दिए पनि हिन्दी भर्सनका बारेमा निर्णय लिएको छैन ।अहिले यही हिन्दी भर्सनलाई लिएर विवाद केन्द्रित छ । तर, आम मानिसले चाहिँ विवादको गाँठो नै नबुझिकन प्रतिक्रिया दिइरहेका छन् र आक्रमणको तारोमा भुवन केसी परेका छन् । केहीले भुवन केसीका छोरा अनमोल केसीको चलचित्र बहिष्कार गर्नुपर्ने आवाजसमेत उठाएका छन् । तर कलाकर्मीले भने यो कुरालाई सहज रुपमा पचाउन सकेका छैनन् । अभिनेता सरोज खनालले प्रदीपको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनु भयो । उनीजस्तो सुपरस्टार कलाकारले अग्रजहरुलाई सम्मान गर्नुपर्ने उहाँको भनाइ छ ।एक अन्तर्वार्तामा खनालले भन्नुभयो, ‘भुवन केसी भनेको विकास बोर्डको अध्यक्षमात्र होइन, आजको सिनेमा क्षेत्र यो स्थानमा ल्याइपुर्‍याउन उहाँको ठूलो हात छ । खड्का जस्तो आर्टिस्टले उहाँमाथि यो लेभलको आक्रोश व्यक्त गर्नु हुन्थेन ।’खनालले दिएको यो सुझावमा ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेन भड्कीनु भयो र आरोप लगाउनु भयो उहाँले भन्नुभएको छ, ‘अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले यतिसम्म हावा अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेको थिएन ‘ एउटा रजतपटमा तपाईं मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो तेही अभिव्यक्ति दिँदै हिँड्न पर्छ ? तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बसाली दिनुभयो आज त्यसको नतिजा अहिले राम्रो कामको लागि पनि कलाकारले भिसा पाउँदैनन ।’सरोज खनाल कुनै जमानाका दिग्गज कलाकार हुनुहुन्छ । उहाँले धेरै चलचित्रमा छाप छाड्ने अभिनय गर्नु भएको छ । तर, नेपालमा चलचित्र खेलेर भविष्य सुनिश्चित नभएको भन्दै उहाँ अमेरिका जानुभएको थियो । लामो अमेरिका बसाइपश्चात केही वर्षअघि नेपाल फर्किएर फेरि फिल्म क्षेत्रमै सक्रिय हुनुहुन्छ ।सन्तोष सेनले खनालमाथि लगाएको आरोपलाई धेरै चलचित्रकर्मीले रुचाएका छैनन् । यद्यपि खुलेर बोल्ने पक्षमा पनि कोही छैनन् । तर, अभिनेता तथा निर्माता दीपकराज गिरीले प्रतिक्रिया दिनुभयो । उहाँले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सेनमाथि प्रश्न तेर्स्याउनु भएको छ ।‘सबैलाई गाली गरेरै फिल्म चलाउने सोच हो ?’, गिरीको प्रश्न छ । उहाँले सेनलाई नियमबमोजिम हिन्दी भर्सनको कर तिर्न पनि सुझाव दिनु भएको छ ।अभिनेत्री करिश्मा मानन्धरले यस चलचित्रलाई तोकेकै समयमा हलमा लगाउन सबैले सघाउनुपर्ने राय व्यक्त गर्नु भयो । ‘प्रेमगीत ३’ यही असोज ७ गते विश्वव्यापी रिलिज हुँदैछ । यसरी रिलिजको संघारामा भएको विवादले चलचित्रलाई फाइदा वा बेफाइदा के होला आगामी दिनमा देखिनेछ । तर, दीर्घकालीन हिसाबले भने नेपाली चलचित्र क्षेत्रलाई यसले घाटा नै पुग्ने देखिन्छ । ‘प्रेमगीत ३’ प्रति सबैकाे सद्भाव हुँदाहुँदै पनि जुन तरिकाले यस चलचित्रका व्यक्तिहरु प्रस्तुत भइरहेका छन् त्यो भने स्वाभाविक नरहेको चलचित्रकर्मीहरु बताउने गरेका छन् ।