

काठमाडौं । केन विलयम्सनले न्युजिल्याण्डको टेष्ट टिमको कप्तानी छाड्नु भएको छ । ६ वर्षदेखि टेष्टको कप्तानी गर्दै आउनु भएका विलियम्सनले अब ब्याटिङ र सीमित ओभरको क्रिकेटमा ध्यान दिने भन्दै कप्तानी छाड्नु भएको हो ।
विलियम्सनले छाडेपछि टिम साउदी न्युजिल्याण्डको नयाँ टेष्ट कप्तान नियुक्त हुनु भएको छ । अब न्युजिल्याण्डले साउदीको कप्तानीमा पाकिस्तान विरुद्ध खेल्नेछ ।
२०२१ मा न्युजिल्याण्डलाई वर्ल्ड टेष्ट च्याम्पियनसिपको उपाधि जिताउनु भएका विलियम्सनले ओडिआई र टी–२० अन्तर्राष्ट्रियको कप्तानीलाई निरन्तरता दिनुहुने छ ।
‘टेष्ट क्रिकेटमा ब्ल्याक्याप्स (न्युजिल्याण्डको) कप्तानी गर्नु विशेष सम्मान हो । मेरो लागि टेष्ट क्रिकेट खेलकै सबैभन्दा उच्च तह हो र यस फर्म्याटमा नेतृत्व गर्दा म चुनौतीमा रमाएँ,’ विलियम्सनले भन्नु भएको छ ।
सन् २०१६ मा ब्रेन्डन म्याकुलमलाई रिप्लेस गर्दै कप्तान बनेका विलियम्सनले न्युजिल्याण्डका लागि ४० टेष्टमा कप्तानी गर्नु भयो । जसमा २२ खेल जित्दा ८ खेलमा पराजिय भोग्नु पर्यो ।
अब विलियम्सनको स्थानमा टिम साउदीले कप्तानी गर्नुहुने छ । जो न्युजिल्याण्डको ३१औं टेष्ट कप्तान बन्नु हुनेछ ।

खबर बजार । २९ मंसिर २०७९, बिहीबार ११:०६