
सुर्खेत । भोलीदेखि हुन लागेको एसइई परीक्षामा कर्णाली प्रदेशबाट ३५ हजार ८०८ जना बिद्यार्थीले सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले छात्रतर्फ १७ हजार ६२३ र छात्रातर्फ १८ हजार १५८ परीक्षार्थी रहेका जनाएको छ । निर्देशनालयका सूचना अधिकारी लोकप्रसाद पौड्यालले प्रदेशभर १८६ वटा परीक्षा केन्द्रहरू रहेका बताउनु भयो । सुर्खेतमा सबैभन्दा बढी ३३ वटा परीक्षा केन्द्र र ८ हजार ३४८ परीक्षार्थी छन् भने सबैभन्दा कम डोल्पामा चार वटा केन्द्र र ७३३ जना विद्यार्थीले एसइई दिँदैछन् ।
दैलेखमा ५ हजार २५७ जाजरकोटमा ४ हजार ६९४ सल्यानमा ४ हजार ५८२ रुकुम पश्चिममा ३ हजार ५९३ परीक्षार्थी छन् । यस्तै कालिकोटमा ३ हजार ७३६ जुम्लामा २ हजार ५५७ हुम्लामा एक हजार १९५ र मुगुमा १ हजार ११३ परीक्षार्थी रहेका छन् ।
परीक्षार्थीमा ८२६ जना ग्रेड वृद्धितर्फ छन् भने बाँकी नियमिततर्फ रहेका छन् ।
कर्णालीमा पोहर भन्दा यस वर्ष एसइई दिने परीक्षार्थीहरूको सङ्ख्या घटेको छ । गतवर्ष प्रदेशका ३८ हजार ९७० जना विद्यार्थीले एसइई दिएको यसपाली ३ हजार १६२ जना कम छन् । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसपाली देशभरबाट करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् ।
यसैबिच, एसईई परिक्षा शान्त, भयरहित र मर्यादित वातावरणमा सञ्चालन गरिने शिक्षा विकास निर्देशानालय कर्णाली प्रदेशले जनाएको छ ।
निर्देशनालयका सुचना अधिकारी पौडेलले परिक्षालाई मर्यादित बनाइने भन्दै शान्त र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभयो । उहाले ढुक्क भएर परिक्षामा सहभागी हुन अनुरोध समेत गर्नुभयो ।

खबर बजार । १४ चैत्र २०८०, बुधबार १९:०३