

काठमाण्डौ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा बरोडाले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।
गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । बरोडाका शाश्वत रावतले ३१, ध्रुव पटेलले २९ रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झा र करण केसीले समान २ विकेट लिए ।
नेपालको टोलीमा आज ४ जना परिवर्तन भएका छन् । आज नेपालको कप्तानी दीपेन्द्रिसंह ऐरीले गर्दैछन् । आज दीपेन्द्रसँगै ललित राजवंशी, करण केसी र आकाश चन्द टोलीमा परेका छन् । आज नियमित कप्तान रोहित पौडेल, सोमपाल कामी, अविनाश बोहरा र आसिफ शेखले विश्राम पाएका छन् ।
यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो । यस्तै गुजरात पनि फाइनलमा पुगिसकेको छ ।

खबर बजार । २३ चैत्र २०८०, शुक्रबार १५:२२