गुराँस गाउँपालिका ८ न. वडामा कृषि प्रर्दशनी मेला तथा अटो लोडर हस्तान्तरण कार्यक्रम सम्पन्न

दैलेख । गुराँस गाउँपालिकाको वडा नं. ८ मा कृषि प्रर्दशनी मेला तथा अटो लोडर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
गुराँस गाउँपालिका ८ को कृषी व्यवसाय प्रवद्र्धन र व्यवसायलाई प्रोत्साहन गर्न मेला आयोजना गरिएको वडा अध्यक्ष दीपेन्द्र वलीले बताउनु भएको छ ।
गुराँस गाउँपालिका सरकार, केयर, आइडिई, म्याप इन्टरनेशनल र एभरेष्ट क्लबको संयुक्त सहकार्य र गुराँस ७ र ८ का आमा समुहको सहभागितामा ८ नं. वडाले मेला आयोजना गरेको हो ।
चैत्र १७ गते आईतबार सम्पन्न मेलामा आमा समूहका पोषण बगैंचामा उत्पादित वस्तुको प्रदर्शनी र प्रतिस्पर्धा, पोषण र सरसफाइ सम्बन्धि गीत प्रतियोगिता, वडाले बनाएको ’कृषि एम्बुलेन्स’को अवधारणामा बल पुग्नेगरी अटो लोडर हस्तान्तरण र आमा समूहद्वारा सञ्चालित सिकाई केन्द्रमा प्रविधि र अन्य सामग्री हस्तान्तरण गरिएको छ ।
गुराँस गाउँपालिका तरकारी खेतीको लागि प्रख्यात भएकोले यो कार्यक्रम महत्वपुर्ण रहेको र यो कार्यक्रम ले कृषकलाई कृषि कर्म गर्न अझै हौसला मिल्ने सरोेकारवालाहरुले बताएका छन् ।
कार्यक्रममा गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी, गुराँस गाउँपालिका उपाध्यक्ष शिवा कुमारी खड्का, गुराँस गाउँपालिका वडा नं. ८ का अध्यक्ष दीपेन्द्र वली, गुराँस ७ र ८ का आमा समुह र विभिन्न साझेदार सँस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।