
दैलेख । दैलेख गुराँस गाउँपालिका अन्तरगत विभिन्न वडाका जनप्रतिनिधिहरुले सेवाको गुणस्तर र विकास निर्माणका सम्बन्धमा विभिन्न प्रतिवद्धता जनाएका छन् ।
गुराँस गाउँपालिकाको आयोजना तथा स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रालीको सहजिकरणमा वडा नम्बर १, २ र ३ मा गरिएको बार्षिक समिक्षा तथा सार्बजनिक सुनुवाई मार्फत जनप्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
वडास्तरीय सेवा, विकास निर्माण र जनचासोका विषयमा गहिरो छलफल गरिएको थियो ।
कार्यक्रममा वडालाई जनमैत्री बनाउने, स्वास्थ्य सेवामा सुधार ल्याउने, खानेपानी समस्याको समाधान गर्ने, सडक विस्तार गर्ने र विद्यालयहरूलाई सुरक्षित वातावरण बनाउन पहल गर्ने जस्ता विषयमा स्थानीय जनप्रतिनिधिहरूले स्पष्ट प्रतिबद्धता जनाएका छन् ।
वडा अध्यक्ष धर्म बहादुर रावलले सेवा प्रवाहमा पारदर्शिता र पहुँच वृद्धि गरिने बताउनुभयो । “हामी वडा कार्यालयका सेवा जनमैत्री बनाउनेतर्फ लागेका छौं, जनताको सुझाव र गुनासोलाई प्राथमिकतामा राखेर काम गरिनेछ,“ उहाले भन्नुभयो ।
स्वास्थ्य चौकी प्रमुख ओप प्रसाद रिजालले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै आवश्यक औषधिहरूको अभाव हुन नदिने बताउनुभयो ।
वडा सचिव दल बहादुर घलेले खानेपानी र सडक विस्तारका लागि आवश्यक पहल र समन्वय गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय नागरिकको सक्रिय सहभागिता देखिएको थियो। उनीहरूले आफ्ना समस्या र अपेक्षाहरू खुलस्त रूपमा प्रस्तुत गरेका थिए ।
यस कार्यक्रमले नागरिक र जनप्रतिनिधिबीचको संवाद बलियो बनाउने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।
बाँदर आतंक हटाउन स्थानीयको माग
गुराँस गाउँपालिका वडा नम्बर २ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयहरूले बाँदर आतंक नियन्त्रण गर्न माग गरेका छन् ।
स्थानीय किसानहरूले बाली सखाप पार्ने बाँदरको बढ्दो आतंकले खेतीपातीमा ठूलो क्षति पु¥याएको भन्दै तत्काल समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो । साथै रोग र किरा नियन्त्रणका लागि नियमित कृषि प्राविधिकको उपस्थितिको मागसमेत गरिएको थियो ।
त्यस्तै, वडाभित्रका धेरै बस्तीहरूमा अझै पनि सिंचाइ सुविधा नपुगेको र खानेपानीमा समस्या रहेको जनाउँदै ती पूर्वाधारमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता स्थानीयहरूले औंल्याएका थिए ।
कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष सोमती विक र वडा सचिव दल बहादुर विसीले स्थानीयको मागप्रति गम्भीर ध्यान दिँदै बाँदर नियन्त्रण, सिंचाइ र खानेपानी समस्या समाधान तथा कृषिमा रोगकीरा नियन्त्रणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“हामी स्थानीयको पीडा बुझ्दछौं, र यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै अगाडि बढ्नेछौं,” कार्यवाहक वडा अध्यक्ष विकले भन्नुभयो ।
कार्यक्रम भैरव प्रावीका प्रधानाध्यापक महेन्द्र रामजालीले वडामा शिक्षाको गुणस्तर कायम गर्नको लागि विशेष पहल गर्न सुझाव दिनुभयो । कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
वडा नम्बर ३ का छात्राहरुको सुझावः सेनेटरी प्याडको व्यवस्था गरियोस्
गुराँस गाउँपालिका वडा नम्बर ३ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले दैनिक जीवनमा प्रभाव पार्ने महत्वपूर्ण सामाजिक, स्वास्थ्य र विकाससम्बन्धी विषय उठाएका छन् । विशेष गरी महिला, विद्यार्थी तथा कृषकको तर्फबाट प्रभावशाली सुझाव र प्रश्नहरू उठेका हुन् ।
विद्यार्थी रञ्जिता शाहीले विद्यालयमा वितरण गरिने सेनेटरी प्याड गुणस्तरीय नभएको भन्दै तत्काल सुधार गर्न माग गर्नुभयो । उहाले भन्नुभयो्, “प्याडको गुणस्तर राम्रो छैन, विद्यालयमा सुरक्षित र भरपर्दो सामग्री उपलब्ध गरिनुपर्छ ।”
“एक घर एक धारा“ कार्यक्रमबारे जिज्ञासा
स्थानीय रत्ना विकले “एक घर, एक धारा“ कार्यक्रमको कार्यान्वयनबारे प्रश्न उठाउँदै भन्नुभयोे, “यो कार्यक्रम कहाँ हरायो ? हामीले आशा गरेका थियौं, तर व्यवहारमा देख्न पाएका छैनौं ।”
अर्का स्थानीय चन्द्रा कुमारी नेपालीले टोलटोलमै स्वास्थ्य शिविर सञ्चालन गर्न जोड दिनुभयो । उहाले गाउँका धेरै ठाउँमा स्वास्थ्य सेवा पहुँचमा नरहेको भन्दै यस्तो शिविरले जनस्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
पूर्व वडा अध्यक्ष गंगाराम खत्रीले कृषि क्षेत्रलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।
वडा अध्यक्ष काशिराम शर्माले उठेका प्रश्नको जवाफ दिँदै “एक घर, एक धारा” कार्यक्रम सञ्चालन गर्न नसकिएको स्वीकार गर्दै, अन्य माध्यमबाट खानेपानीको समस्या समाधान गरिने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै, आगामी दिनमा टोलटोलमै स्वास्थ्य शिविर सञ्चालन गरिने र सेनेटरी प्याडको गुणस्तरीय उपलब्धताका लागि गाउँकार्यपालिकामा पहल गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जवाफदेही वक्ताको रुपमा रहनुभएका वडा सचिव तारा कुमारी खाँडले वर्षभरिमा भएका सेवा प्रवाहहरूको विवरण प्रस्तुत गर्दै, वडाका सेवा प्रणालीलाई अझ प्रभावकारी र सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शान्ति मावी शेरीका प्रधानाध्यापक विष्णु शर्माले शिक्षाको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिँदै विद्यालयलाई राजनितिक थलो बनाउन नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीयको सक्रिय सहभागिता देखिएको थियो भने सार्वजनिक सुनुवाइलाई जनप्रतिनिधि र नागरिकबीच संवाद र जिम्मेवारीको माध्यमका रूपमा लिइएको थियो ।

खबर बजार । ३ असार २०८२, मंगलवार २०:१४