रहेनन् महान फुटबल खेलाडी पेले

काठमाण्डाै । फुटबलका स्टार खेलाडी पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो ।
पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो ।यसअघि पेलेकाे अवस्था गम्भीर रहेको उपचारमा खटिएका डाक्टरले बताएका थिए । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए ।

तीन पटक ब्राजिललाई विश्व कपको उपाधि दिलाउन योगदान पुर्‍याएका पेले गएको महिनादेखि अस्पताल भर्ना भएका थिए ।  ब्राजिलको सानो सहर मिनास गेराइसमा १९४० अक्टोबर २३ मा उनको जन्म भएको थियो ।
उनको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलले पाँच पटक विश्व कप जितेको छ । पाँचमध्ये तीन उपाधि जिताउने नायकका रूपमा पेलेलाई चिनिन्छ ।पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् ।

२१ वर्षकाे लामाे फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गाेल गरेकाे विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीकाे पदक दिइएकाे थियाे ।