
काठमाडौँ । सरकारले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने घोषणा गरेको छ । तर, निर्णय कार्यान्वयनमा नआउँदै नै व्यापक विरोध सुरु भएको छ ।
यातायात व्यवस्था विभागले सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था लागू गर्ने तयारीअनुसार सो निर्णय गरेको थियो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयको विरोध गर्दै तत्काल नम्बर प्लेट जडान नगर्न देशभरका व्यवसायीलाई आग्रह गरेको छ । महासनगरी एकतर्फी रूपमा गरिएको निर्णय न्यायोचित नभएको उल्लेख छ । ’देशभरका यातायात व्यवस्था कार्यालयमा आवश्यक प्रविधि छैन । पूर्वाधार बिना जबरजस्ती राजस्व असुली गर्नु अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले हाल व्यवसायीहरूले पुरानै नम्बर प्लेटमा कर तिर्ने र कागजपत्र नवीकरण गर्ने तर इम्बोस्ड नम्बर प्लेटका लागि छुट्टै राजस्व तिर्नुपर्ने व्यवस्था अव्यवहारिक भएको दाबी गरेको छ । साथै, सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पनि पूर्वाधार अभावमा जबरजस्ती कार्यान्वयन गर्न खोज्नु अन्याय हुने बताइएको छ । यसैगरी सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पनि सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।



खबर बजार । १० भाद्र २०८२, मंगलवार ०८:२०