एमाले केन्द्रीय कमिटी बैठकः तालमेलको अधिकार स्थानीय तहलाई-कार्यक्रममा ५ भन्दा बढि नबोल्ने

काठमाडौं । नेकपा (एमाले) ले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको हो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै भएको बताउनु भयो । स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महसुस गरेको खण्डमा तालमेल गर्न सकिने उहाँले बताउनु भयो ।

यसैगरी स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गठन भएको छ । बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली छन् ।

यसैबीच, अब एमालेले माला र खादाको प्रयोगमा रोक लगाउने भएको छ भने निर्वाचन केन्द्रीत कार्यक्रममा पाँच जना भन्दा बढीले बोल्न नपाउने भएका छन् ।

विदेशबाट आयात हुने माला र खादाको यसक्रममा धेरै खपत हुने भएकाले त्यसलाई घटाउन अध्यक्ष केपी ओलीले यस्तो निर्देशन दिनु भएको हो ।

सार्वजनिक कार्यक्रममा वक्ताको लर्को लगाएर भद्दा बनाउने भएकाले वक्ता तय गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रिजालले बताउनु भयो ।