
काठमाडौं । जेन-जी आन्दोलनबारे ब्रिटिस ब्रोडकाष्टिङ्ग कर्पोरेसन- बिबिसी र रोयटर्समा हालै प्रशारित डकुमेन्ट्रीको विषयलाई लिएर दुई धारका प्रतिक्रिया आएका छन् ।

निर्वाचनको सम्मुखमा प्रशारित डकुमेन्ट्रीले जनमत प्रभावित पार्ने उद्देश्य राखेको एकथरीको भनाइ छ भने रास्वपा लगायत अर्कोथरीले सत्यता नै त्यहि हो भनी अड्डी कसेका छन् ।
सामाजिक सञ्जालहरुमा डकुमेन्ट्रीको विषयलाई लिएर विभिन्न प्रकारका बहसहरू भइरहेका छन् ।
नेकपा (एमाले)का नेता/कार्यकर्तालगायत दल तथा केही विश्लेषकहरुले भिडियो डकुमेन्ट्रीमा आन्दोलनमा भएका केही भिडियो फुटेजहरू देखाइए पनि धेरै जसो लुकाइएको र सो एकपक्षीय रहेको प्रतिक्रिया दिएका छन् ।
आन्दोलनकारी सुरक्षाकर्मी र सार्वजनिक सम्पत्ति/सम्पदाको तोडफोड तथा आगजनीमा संलग्न भएपछि गोली चलेकोमा डकुमेन्ट्रीले फरक सन्देश प्रवाह गरेको उनीहरुको भनाइ छ ।
तर, रास्वपाका नेता/कार्यकर्तालगायत आन्दोलनकारीहरुले भने पहिला गोली चलाएपछि मात्रै आन्दोलन उघ्र बनेको दावी गरेका छन् ।
सरकारले गठन गरेको छानवीन आयोगले निर्वाचन प्रभावित हुने भन्दै प्रतिवेदन सार्वजनिक नगरेको अवस्थामा विदेशी संस्थाद्वारा सञ्चालित मिडियाले डकुमेन्ट्री सार्वजनिक गरेपछि केही शंकाको वातावरण भने बनेको छ ।
भिडियो डकुमेन्ट प्रायोजित: निवर्तमान प्रहरी प्रमुख
निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ ले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हालै प्रसारित डकुमेन्ट्री सामग्रीप्रति असन्तुष्टि जनाउनुभएको छ ।
अवकाशपछि गृह जिल्ला तेह्रथुममा कृषि कार्यमा संलग्न रहेका उनले उक्त सामग्रीलाई ‘गम्भीर चालबाजी’ को संज्ञा दिनुभएको हो ।
उहाँका अनुसार, रोयटर्स र बिबिसीले चुनावको पूर्वसन्ध्यामा रणनीतिक रूपमा सार्वजनिक गरेको डकुमेन्ट्रीमा भदौ २३ गतेको जेन जी प्रदर्शन र त्यसपछिको घटनाक्रममध्ये एक निश्चित समय र स्थानका तस्बिर तथा भिडियो मात्र समेटिएको छ । यसरी सीमित अंशलाई जोडेर सामग्री तयार पारिनु प्रायोजित प्रकृतिको भएको उहाँको ठहर छ ।
खापुङले कर्फ्यु घोषणा भइसकेको अवस्थामा माथिल्लो सुरक्षा नेतृत्वबाट अलग्गै गोली चलाउने आदेश आवश्यक नपर्ने बताउनुभयो ।
चुनाव नजिकिँदै गर्दा जनमत प्रभावित गर्ने उद्देश्यले सन्दर्भ काटछाँट गरी सामाजिक सञ्जालमार्फत प्रचार गरिएको दाबी उहाँले गर्नुभयो ।
डकुमेन्ट्रीको नाममा बाह्य शक्तिहरूले नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै उनले यस्तो प्रयासलाई कसैको बदनाम गर्ने निरर्थक अभियानको रूपमा चित्रण गर्नुभयो ।




खबर बजार । १५ फाल्गुन २०८२, शुक्रबार २२:४२