f बाढी प्रभावित स्थानीय तहको लागि करिव सात करोड निकासा

बाढी प्रभावित स्थानीय तहको लागि करिव सात करोड निकासा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ वटा पालिकाका लागि हिजो बेलुकासम्म ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको हो ।

प्राधिकरणका अनुसार यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ । प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा भएको रकममध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार यो रकम अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित पालिका वर्गीकरण गरी त्यसैअनुसार अनुदान सहायता उपलब्ध गराउनेछ ।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालीका र आमाछोदिङ गाउँपालिका, नुवाकोटको विदुर र बेलकोट नगरपालिका, तारकेश्वर, किस्पाङ गाउँपालिका, धादिङको बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबुँखैरेनीमा भएको क्षतिका आधारमा अनुदान रकम वितरण गरिनेछ ।