दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिनु हुने भएको छ ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताउनु भयो । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिनु भएको थियो ।
राष्ट्रपतिको चुनावसंगै केन्द्रमा बदलिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लाग्नु भएको हो ।
लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका १० दलमध्ये ८ दल र एक जना स्वतन्त्र समेत ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।
८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । अहिले एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री गिरीले बहुमत गुमाइसकेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र १६८ (२) अनुसार बहुमत सांसदको समर्थन प्राप्त कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् ।
खबर बजार । ४ बैशाख २०८०, सोमबार १६:१७