कांग्रेसकै मन्त्रीहरुले जनताका पक्षमा काम गर्न सकेनन्: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसकै मन्त्रीहरुले जनताका पक्षमा काम गर्न नसकेको बताउनु भएको छ ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले काम गर्न नसकेको बताउनु भयो ।

उहाँले कांग्रेसका नेताहरुले नै माओवादी सामु गएर तिम्रै पार्टीको यो मान्छेलाई मुख्यमन्त्री बनाउ भनेकाले कोशी प्रदेशमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ ।

‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी मान्न सकिन्छ ?’ कोइरालाले भन्नु भयो, ‘कोशीमा नयाँ एक्सपेरिमेन्ट हो । हेरौं कसरी अगाडि बढ्छ ।’

आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकाले कांग्रेस कमजोर बनेको पनि उहाँले बताउनु भयो । कोइरालाले केन्द्रमा अहिलेकै गठबन्धन जारी रहने समेत बताउनु भयो ।