f हालकै विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’, अब नयाँ विकल्प खोजिने

हालकै विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’, अब नयाँ विकल्प खोजिने

सुर्खेत । सुर्खेत विमानस्थल हाल रहेकै क्षेत्रलाई विस्तार गर्ने विषय तत्काललाई अघि नबढाइने भएको छ । स्थानीय नागरिक र सरोकारवालाको दबावपछि कर्णाली सरकारले विमानस्थल विस्तारको जग्गा फुकुवा गरेको हो ।

हालको विमानस्थल । तस्बिरः खबरबजार

मुख्यमन्त्री जीवनबहादुर शाहीले जनताको लागि नयाँ विकल्प खोज्ने र नयाँ कार्ययोजनाका साथ अगाडि बढ्नका लागि सुर्खेत विमानस्थल विस्तारको जग्गा फुकुवा गरेको बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित परिणाम मुलक छलफल कार्यक्रममा मख्यमन्त्री शाहीले सबै पक्षको सहमतिअनुसार पूर्व वा पश्चिममा हुनेगरी विमानस्थल विकास तथा विस्तारको नयाँ विकल्प खोज्ने भन्दै जग्गा फुकुवा भएको मौखिक रुपमा घोषणा गर्नुभएको हो ।

यसअघि विमानस्थल फिनिसिङ्ग लाइनदेखि उत्तर तर्फ ६ सय मिटर, दक्षिण तर्फ ४ सय मिटर, पूर्व तर्फ २५ मिटर र पश्चिम तर्फ २ सय मिटर क्षेत्रफलमा लगत कारोबार रोक्का गरेको थियो ।

शाहीले अहिले रहेको स्थानबाटै अहिलेकै अवस्थामा विमानस्थल चल्ने र नयाँ विकल्प आएमा विमानस्थल बनाइने बताउनुभयो ।

यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० र १२ का स्थानीय नागरिकले विमानस्थल विस्तारका नाममा पटक–पटक जनतालाई त्रसित बनाइरहेको भन्दै सुर्खेत विमानस्थल विस्तार गर्न नदिने भन्दै आएका छन् ।