‘कुँडा कर्णालीका-३’ आजदेखि

सुर्खेत । प्रत्येक वर्ष आयोजना हुने गरेको कर्णाली उत्सव ‘कुँडा कर्णालीका’को तेस्रो संस्करण आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू हुँदैछ । २०७६ सालदेखि सुरू भएको उत्सव वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा सञ्चालन हुने भएको हो ।

 

आजदेखि फागुन २९ गतेसम्म चल्ने उत्सवमा यो पटक कर्णालीको आर्थिक समृद्धिसँग जोडिएका विषयमा रहेर विचार, विमर्श गरिने आयोजक संस्था ऋति फाउण्डेशनले जनाएको छ ।

यो पटकको कर्णाली उत्सवमा समसामयिक विषयमा १२ वटा सत्र सञ्चालन गरिने उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार यो पटक उत्सवमा पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’, दोस्रोमा ‘बजार विकास र हजार निकास’, तेस्रोमा ‘आरन अन्वेषण र आविष्कार’, चौथोमा ‘लगानीमा लगाम’, पाँचौंमा ‘झरो–उजेलोको खरो’, छैटौंमा ‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्र सञ्चालन हुनेछन् ।

सातौंमा ‘रैबार र रैला’, आठौंमा ‘शून्य समय’, नवौंमा ‘वाद विवाद र संवाद’, दशौंमा ‘विकासको बाटो’, एघारौंमा ‘उमेरको उमंग’ र बाह्रौंमा ‘कर्णाली चिन्तन (दिगो विकास र कर्णाली)’ शीर्षकमा सत्रहरु सञ्चालन गरिनेछ ।

पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’ मा वरिष्ठ कलाकारहरु गंगा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा वक्ताका रूपमा रहनेछन् भने डाक्टर नवराज लम्सालले सत्रको सञ्चालन गर्ने आयोजकले जनाएको छ । त्यस्तै ‘बजार विकास र हजार निकासमा’ रेवती गुरूङ, बसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी सहभागी हुनेछन् ।

‘आरन, अन्वेषण र आविष्कार’मा महावीर पुन, सहवीर कामी, डिबी नेपाली, कविता पाण्डे वक्ता हुनेछन् भने विष्णु विवेकले सत्रको सहजीकरण गर्ने आयोजकको भनाई छ ।

यसैगरी ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह वक्ता हुने तथा गणेश कार्कीले सहजीकरण गर्ने तयारी छ ।

महेश नेपालीले सहजीकरण गर्ने सत्र ‘झरो–उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना वक्ता हुनुहुन्छ । ‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्रमा डा. सुदीप ठकुरी, डा. राधा वाग्ले, कृष्ण रोकाया र युवराज कार्की वक्ता रहेका छन् भने इन्द्र रावलले सहजीकरण गर्नेछन् ।

बिनु सुवेदीले सहजीकरण गर्ने ‘रैबार र रैला’ सत्रमा डा. बैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइराला वक्ता छन् । यस्तै ‘शून्य समय’ सत्रमा कर्णाली प्रदेश सभा सदस्यहरू देवी ओली, सीता नेपाली र प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी वक्ता छन् भने सत्रको सहजीकरण नारायण अधिकारीले गर्ने तयारी छ ।

मनऋषि धितालले सञ्चालन गर्ने ‘वाद विवाद र संवाद’ सत्रमा प्रतिनिधि सभा सदस्य तथा कांग्रेस महामन्त्री गगन थापा र सहरी विकास मन्त्री रामकुमारी झाँक्री वक्ता रहेका छन् । ‘विकासको बाटो’ सत्रमा डा. विमला राई पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री विन्दमान विष्ट, मधु मरासिनी वक्ताका रूपमा रहेका छन् ।

अन्तिम सत्र ‘उमेरको उमंग’मा सुनिता रावल, पञ्चा सिंह, आरती लामा र पुनम भट्ट भट्टराई वक्ता रहेका छन् । कर्णाली चिन्तन सत्र डा. विश्व पौडेलले सञ्चालन गर्नुहुनेछ ।

कर्णाली उत्सव अवधिभर तीन जना सफल/प्रतिभावान व्यक्तिको आत्मकथा (पैकलो) पनि प्रस्तुत गरिने फाउन्डेसनले जनाएको छ ।