

सुर्खेत । सुर्खेतमा निर्माण भइरहेको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ५३ प्रतिशत काम सकिएको छ । बाह्रै महिना सिँचाई सुविधा पुर्याउने र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०७१र०७२ बाट डाइभर्सन आयोजनाको निर्माण कार्य शुरु गरिएको हो ।
आयोजनान्तर्गत नेपालमा पहिलो पटक टनेल बोरिङ्ग मेसिन टिविएम मार्फत लक्ष्य अगावै सुरुङ ब्रेक थ्रु गरिएको थियो । हाल दोस्रो चरणमा बाँध तथा पावरहाउस निर्माणको काम भइरहेको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजना सुर्खेतका सिनियर डिभिजनल ईन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार भेरी नदी किनार चिप्लेमा हेडवर्कस बाँध, सर्ज, साफ्ट, पेनस्टक, पावरहावस, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल निर्माणको काम भइरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा आयोजना निर्माण सक्ने लक्ष्य जलस्रोत तथा सिँचाई विभागको छ । आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड बजेट रहेको छ । यो मध्य भेरी बबई डाइभर्सनतर्फ ३३ अर्ब १९ करोड र भेरी कोरिडोर विकास आयोजनाका लागि तीन अर्ब ६१ करोड बजेट रहेको सुवेदीले बताउँनुभयो ।
उक्त बजेटमार्फत आयोजनाबाट प्रभावितहरुलाई भूमिगत र लिफ्ट सिँचाई, कुलो, पुनर्निमाण, सिंचित क्षेत्र तथा इन्टेक बचावट तटबन्धन निर्माणमा खर्चिएको सुवेदीले उल्लेख गर्नुभयो । सिंचाई विकास तथा सामाजिक विकासअन्तरगत भेरी कोरीडरमा सतह, सौर्य तथा विद्युतीय लिफ्ट सिँचाई निर्माण गरिएको छ ।
भेरी नदीको चिप्लेमा एक सय १४ मिटर लामो ब्यारेजसहित एक सय ५८ मिटर डिसेन्डिङ बेसिन र टनेल इन्ट्री पोर्टलको निर्माण भइरहेको छ । पोर्टलमा चार वटा ढोका हुनेछन् भने भेरी नदी वारपार गर्न पुल पनि निर्माण गरिनेछ । दोस्रो चरणको काम २०८० साउन २९ भित्र बाँध निर्माण सक्ने गरी रमणरग्वाङ्डोन जेभीले जिम्मा लिएको छ । आयोजना सकिएपछि १२ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी भेरी नदीबाट बबई नदीमा खसालिनेछ ।
भेरी नदीमा सुक्खायाममा ८० घनमिटर पानी प्रतिसेकेन्ड बग्छ । एक सय ५२ मिटर लामो हेडको प्रयोगबाट ४६।८ मेगावाट विद्युत् उत्पादनका लागि विद्युत् गृहको निर्माण गरी वार्षिक तीन सय ८५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने आयोजनाको योजना छ । भेरी नदीबाट बबईमा खसालिएको पानीले लुम्बिनी प्रदेशका बर्दिया र बाँकेका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

खबर बजार । १७ चैत्र २०७८, बिहीबार १४:३७