रुख कटान नहुँदा सडक निर्माणमा समस्या

सुर्खेत । मदन भण्डारी राजमार्ग अन्र्तगत पर्ने धुलियाविट भेडाबारीको सडक निर्माणको काम सुरु भएपनी रुख कटान नहुँदा समस्या भएको छ । सडक निर्माणको क्रममा रुख कटान गर्नुपर्ने भएपछि यो सडक समयमै नबन्ने संकेत समेत देखिएको छ ।


२०७८ असार २८ गते निर्माण सम्झौता गरिएको राजमार्गको ढिलागरी शुरु भएपनी काम गर्ने क्रममा रुख कटान समयमै नहुँदा प्रभावित भएको छ । धुलियाविट–भेडावरी–वोटेचौरसम्मको दुरी ३५ किलोमिटर छ । रुख नभएका क्षेत्रहरुमा कल्भर्ट, नाली, पर्खाल लगायतको काम भइरहेको छ । रुख भएका क्षेत्रको काम अझै शुरु भएको छैन् ।

सडक क्षेत्रमा टाँचा लगाएका एक हजार चार सय बढी रुखहरु कटानमा वन कार्यालय उदासिन छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले सडकमा पर्ने रुखहरु कटान गर्न ताकेता गरिरहेको छ । यता डिभिजन बन कार्यालय सुर्खेतका प्रमुख मुन बहादुर रावतले रुख कटान आदेशका लागी विभागमा पत्राचार गरिएको आदेश नआउँदा रुख कटान गर्न नसकीएको बताउनुभयो ।

सडक निर्माणका लागी आईई रिपोर्टनै फरक परेको हुदाँ रख कटान गर्न समस्या भएकको रावतले बताउनुभयो । वन क्षेत्रमा करीव १ हजार ४ सय वटा रुख परेको र विभागबाट रुख कटान आदेश आउनासाथ रुख कटान सुरु गर्ने रावतले बताउनुभयो ।

मन्त्रीपरिषद्को निर्णयबाटनै रुख कटानको अनुमति लिनु पर्ने भएकाले ३० महिनामै नसकिने संकेत देखिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

कटान गर्नुपर्ने रुखको पहिचान, सामुदायिक वन उपभोक्ता समिति, सवडिभिजन र डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया सकिएको लामिछानेले बताउनुभयो ।

रुख कटानसम्बन्धी वन कार्यालयबाट तयार भएको फाइल वन विभाग, मन्त्रालयहुँदै मन्त्रिपरिषद् बैठकले अनुमति दिने प्रक्रिया नटुङ्गीयपछी निर्धारित समयमा सडक कालोपत्रे हुन नसक्ने देखीएको हो ।