वीरेन्द्रनगर बजारको नाला बुझिएपछि सडक बन्यो पोखरी

स्थानीयद्धारा बाटो अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–६ सुर्खेतमा रहेको सडकको नाला बुझिएपछि पोखरी बनेको छ । सडकमै पोखरी बनेपछि स्थानीयले उक्त बाटो बन्द गरेर सवारी साधान आवजजावतमा रोक लगाएका छन् ।

वीरेन्द्रननगरको मुटुको रूपमा ६ नम्बरको बजारलाई लिने गरिन्छ । उक्त वडाको मुख्य बजार जुम्लारोड अर्थात बजार सोरुम अगाडीदेखि सनिहल लाईन जाने सडक स्थानीयले बन्द गरेका हुन् ।

स्थानीय इश्वर श्रेष्ठका अनुसार लामो समयदेखि नै वडा तथा नगरपालिकालाई बारम्बार नालाको पानीलाई निकाष गरिदिन अनुरोध गर्दा पनि उक्त मागको सुनुवाई नभएपछि बाटो बन्द गर्नु परेको बताउनुभयो ।

उहाँका अनुसार नाला बुझिएर नालाको फोहोर पानी सडकमै जम्छ । यसको निकाष गरि पाउँ भनेर समय–समयमा वडा तथा नगरपालिकालाई अनुरोध गर्दापनि कुनै सुनुवाई नभएपछि आज बाटो बन्द गर्न परेको हो । यसको सुनुवाई समयमै नभए स्थानीयबासी आन्दोलनमा उत्रिने उहाँले जानकारी दिनुभयो ।

यस्तै, स्थानीय जितेन्द्र थापाले वीरेन्द्रनगर–६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेल यहीँ बाटो भएर दिनदिनै हिँडेपनि सडकमा भएको समस्याको कुनै चाँसो नदिपछि बाटो बन्द गर्न बाध्य भएको बताउनुभएको छ ।

उक्त सडक आज (आइतबार) बिहान ८ बजेदेखि बन्द रहेको छ भने विद्युतको लाइन विस्तारको लागि गाड्न राखिएका पोल सडकमा लगाए बन्द गरिएको छ । अहिले वडा कार्यालयबाट कर्मचारी खटाए नालामा जम्मा भएको फोहोर सडकमा निकाल्ने काम भइरहेको छ ।

यता वडा अध्यक्ष मोतिप्रसाद कँडेलले पानी निकास हुने ठाउँमा राखिएको होम पाईप बुझिएका कारण नालाको पानी सडकमा आएको बताउनुभयो । आफुहरुले हेरेरै विकास निर्माण गरेको भएपनि व्यपारी तथा स्थानीयहरूले फोहोर जति सबै नालामा हालेपछि बुझिएर पानी सडकमा आएको मात्रै हो अहिले नाला सफा गर्ने काम भईरहेको उहाँले बताउनुभयो ।

यस्तै कँडेलले बोइलर कुकुरा काटेर भुत्ला जति बोरामा खारेर नालामा हालेका कारण नाला बुझिएको जानकारी दिनुभयो ।