दशकौंको पर्खाइपछि जग्गाको मालिक बने भेरीगंगा र गुर्भाकोटका नागरिक

सुर्खेत । राष्ट्रिय भूमी आयोग सुर्खेतले यहाँका दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको उपस्थितिमा आज भेरीगंगा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३४ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो ।

आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा जारी गरिएको छ । गुर्भाकोटमा ६३ तथा भेरीगंगामा २३३ कित्ता जग्गाको पुर्जा वितरण गरिएको थियो । भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौला, जिल्ला अध्यक्ष श्रीधर पौड्याल, भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य लगायतले जग्गाधनी पुर्जा वितरण गर्नुभएको हो ।

सुर्खेतमा २०३९ सालयता भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन । वर्षौंपछि पुर्जा पाउँदा स्थानीयबासिन्दा निकै खुसी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैंकिङ सेवा उपभोग गर्नबाट बञ्चित थिए ।

आयोगका केन्द्रीय अध्यक्ष निरौलाले सरकारले भूमिहिन, सुकुम्बासीलाई जग्गा दिनुका साथै व्यवस्थित बसोबासका कामलाई उच्च प्राथमिकता राखेको बताउनुभयो । जग्गाधनी पुर्जाविहिनलाई पुर्जा उपलब्ध गराएर राज्यले सुम्पेको जिम्मेवारी आयोगले पुरा गरेको उहाँको भनाई थियो ।

आयोगका सुर्खेत जिल्ला अध्यक्ष पौड्यालले कर्मचारी र जनप्रतिनिधिको सहयोगले गर्दा ४० वर्षपछि पहिलोपटक भूमिहिनलाई पुर्जा वितरण गर्न आफूहरु सफल भएको धारणा राख्नुभयो ।