कर्णाली करिडोरअन्तर्गत सडक खण्ड फराकिलो पारिँदै

 नौ वटा पुल बन्दै

सुर्खेत । कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् ।

कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो ।

त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ । पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

कर्णाली करिडोरअन्तर्गत कालीकोट सडक खण्ड फराकिलो बनाउन थालिएको छ । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो पार्ने काम सुरु भएको हो।सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरूले काम सुरु गरिसकेको उक्त कार्यालयले जनाएको छ ।

कर्णाली करिडोर साँघुरो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले सडक फराकिलो पार्न लागिएको उक्त कार्यालयका इन्जिनियर यादवले बताउनुभयो ।