सुर्खेत । सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउपालिका स्थित गुटु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य अलपत्र परेको छ । १२ वर्ष अघि उक्त भवन निर्माण गर्ने भनेर सम्झौता भएपनि निर्माण कम्पनीका कारण ढिलाई भएको हो ।
सरकारले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०६६ मा ठेक्का लगाएको थियो । तर भवन निर्माण कार्यमा ठेकेदार र कर्मचारीको मिलेमतोमै कमसल सामाग्री प्रयोगमा गरेको पाईएपछि भवन निर्माण कार्य अलपत्र परेको थियो ।
आर्थिक वर्ष २०६६/६७ मा मैनाचुली/सुरुचि जेभीले करीब साढे १४ करोड रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन निर्माण सम्झौता गरेको थियो ।
तर, ठेकेदारले भवन निर्माणमा भ्रष्टाचार गरेको मुद्धा सर्वोच्चमा परेपछि १२ वर्षदेखि भवन अलपत्र हो ।
भवन निर्माण सम्पन्न नहुँदै साविकको शहरी विकास तथा भवन डिभिजन कार्यालयले भुक्तानी दिएको प्रमाणका आधारमा अख्तियारले तत्कालीन कार्यालय प्रमुख, लेखापाल र निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको संघीय आयोजना कार्यान्वयन ईकाइ सुर्खेतले बताएको छ ।
आयोजना कार्यालयका प्रमुख अमरबहादुर थापाले गुटु स्वास्थ्य चौकी भवन निर्माणमा अनियमितता भएको उजुरी सर्वोच्चमा विचाराधीन रहेकाले तत्काल निर्माण प्रक्रिया शुरु गर्न नसकिने बताए ।
उनले अदालतको आदेशविना विवादास्पद भवन निर्माण अगाडि बढाउन नमिल्ने भएकाले सर्वोच्चबाट फैसला हुनेबित्तिकै निर्माण शुरु हुने जनाए । सम्झौतापछि पटक–पटक म्याद थप गर्दै आएको जेभीले ठेकेदार र कर्मचारीको मिलेमतोमा कमसल निर्माण सामग्री प्रयोग गरी भवन निर्माण गरेको थियो ।
‘भवन निर्माण पूरा नहुँदा स्वास्थ्य चौकीको सम्पूर्ण सेवा एउटै कोठाबाट सञ्चालन गरिरहेका छौं’, कार्यालय प्रमुख ईन्द्रबहादुर जैसुरी भन्छन्, ‘विभिन्न माध्यमबाट पटक–पटक अधुरो भवन बनाई दिन प्रदेश र संघ सरकारलाई आग्रह गरिएपनि सुनुवाई भएको छैन ।’
ठेक्का लिने तर काम बीचमै छाड्ने प्रवृत्तिले विकास निर्माणका योजना अलपत्र पार्ने चलनको अन्त्यका लागि सबै पक्ष जवाफदेही हुनु पर्ने गुटुका समाजसेवी काशीराम देवकोटाको भनाई छ । निर्माणाधीन भवनभित्र झार उम्रिएको छ । भवनका झ्यालढोका फुटेका छन् ।
खबर बजार । ३ पुष २०७८, शनिबार ११:५९