कास्की । कास्की प्रहरीले पक्राउ परेका लाउरे भनिने चर्चित र्यापर आशिष रानासहित पक्राउ परेका अरू तीन जना र उनिहरूबाट बरामद भएको ब्राउनसुगरको विवरण सार्वजनिक गरेको छ ।
प्रहरीकाअनुसार उनिहरूको साथबाट १३.१ ग्राम ब्राउनसुगर बरामद भएको छ ।
लाउरे र उनीसँगै पक्राउ परेकाहरूको तस्बिर पनि प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
लाउरेसँगै पक्राउ परेका चारजनामा एक महिला छन् । पोखरा महानगरपालिका वडा नं. ९ का ३२ वर्षिय लाउरे भन्ने आशिष राना, वडा नं. २१ घर भइ हाल वडा नं. १७ छोरपाटन बस्ने ३८ वर्षीय ध्रुवबहादुर थापा र कास्की रुपा गाउँपालिका वडा नं. ७ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १ बस्ने ३० वर्षिय बिक्की भनिने नविनकुमार गुरुङ पक्राउ परेका छन् ।
यस्तै स्याङ्जा भीरकोट नगरपालिका-७ घर भइ हाल पोखरा महानगरपालिका ८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरुङ पक्राउ परेकी छन् ।
कास्की प्रहरीले फेसबुकमा दिएको जानकारीअनुसार बुधबार बेलुकी ७ बजे पोखराको वडा नम्बर ८ जाल्पारोडबाट लाउरेसहित चारजना पक्राउ परेका थिए ।
उनीहरूले लागुऔषध खरिद-बिक्री गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको शरीर खातलासी गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
त्यसपछि थप अनुसन्धानका क्रममा वडा नं. ८ स्थित सुस्मिता गुरुङको कोठाभित्र लुकाइ-छिपाइ राखेको अवस्थामा १२.५० ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरि, डिजिटल तराजु १ थान, नगद ३८ हजार ३५० रुपैयाँ, मोबाइल सेट ५ थान स्कुटर १ थान बरामद भएको छ ।
पक्राउ परेकाहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
खबर बजार । १६ पुष २०७८, शुक्रबार ११:४६