खडेरीमा विरेन्द्रनगरबासीलाई खानेपानीको चिन्ता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका कर्णालीको राजधानी शहर हो । हरेक निर्वाचनमा यहाँ पार्टी र उम्मेदवारहरूको प्रमुख चुनावी एजेन्डा बन्छ, खानेपानी । यसपटकको स्थानीय तह निर्वाचनमा पनि उपत्यकाको खानेपानी संकट सबैको प्राथमिकतामा परेको छ । वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले तयार पारेका घोषणा–पत्रमा खानेपानी कतै छुटेको थिएन । यो विषय प्रत्येक प्रचार सामग्रीमा अग्रबुँदामै अटाएको थियो । खानेपानीको अभाव टार्न आफूलाई मतदान गर्नुपर्ने आह्वानसहितको प्रतिबद्धता जनाउन उम्मेदवारहरू घरदैलोमा पुगेका थिए ।

राजधानीको नगर भएपनि यहाँ खानेपानीको चरम अभाव छ । गर्मीयाममा वीरेन्द्रनगर उपत्यका काकाकुल हुन्छ । त्यसैले नगरका मतदाता उम्मेदवारसँग विकासका ठूलठूला खाका खोज्दैनन्, पानी ल्याउने प्रतिबद्धता मात्रै खोज्छन् । मतदाताको माग बुझेका उम्मेदवारहरूले आफ्नो चुनावी एजेन्डामा खानेपानी छुटाएनन् । ‘जे आवश्यकता छ, नेताहरूसँग त्यही माग्ने हो,’ वीरेन्द्रनगर–१ का लालबहादुर विक भन्छन्, ‘हामीलाई पानी खुवाउने जनप्रतिनिधि चाहिएको छ ।’ लालबहादुरले आफ्नो घरको धारमा तीन÷चार दिनमा एक पटक मात्रै पानी आउने गरेको सुनाए । निर्वाचनको बेला वीरेन्द्रनगर–१ मा ठूला राजनीतिक दलहरूले उम्मेदवारसहित घरदैलो गरिरहँदा धेरै मतदाताको माग पानी नै थियो । नेकपा ‐एमाले, नेपाली कांग्रेस र नेकपा ‐माओवादी केन्द्रका उम्मेदवारले त्यहाँका मतदातालाई पानीको समस्या हल गर्ने बचन दिए । ‘हामीले जिते पानीका दुःख हटाउँछौँ भनेका छन्,’ लालबहादुरले भने, ‘अघिल्लो चुनावमा पनि यस्तै भनेर भोट मागेका हुन्, खोइ हाम्रा समस्या उस्तै छन् ।’

स्थानीय चुनावका लागि उम्मेदवारले घरदैलो गर्दा वीरेन्द्रनगरका मतदाताको गुनासो सुनिएको थियो, ‘हामीलाई पानीका साह्रैै दुःख भए ।’ नेकपा ९एमाले०बाट वीरेन्द्रनगरको नगर प्रमुख पदमा उम्मेदवार बनेकी मोहनमाया ढकालले घरदैलो अभियानमा मतदाताले पानीकै पिरलो सुनाउने गरेको बताइन् । उनले भनिन्, ‘मतदाताले भोट तपाईंलाई नै भयो, पानीको सुविधा भने दिनुहोला भन्ने गर्नुभएको छ ।’ एमालेले तीन वर्षभित्र वीरेन्द्रनगरको खानेपानी संकट दीर्घकालीन रूपमा टार्ने चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । भेरीको पानी लिफ्ट प्रविधिमार्फत उपत्यकामा ल्याएर वितरण गर्ने योजना बनाइएको नगर प्रमुखका उम्मेदवार ढकालले बताइन् । यसअघि नगरको उपप्रमुखसमेत रहेकी उनले त्यसका लागि आफ्नो कार्यकालमा केही पहलहरू थालिएको दाबी गरिन् ।

वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि एमालेको जस्तै चुनावी नारा नेपाली कांग्रेसको पनि थियो । कांग्रेस र माओवादी केन्द्रबाट वीरेन्द्रनगर प्रमुखको उम्मेदवार बनेका उपेन्द्रबहादुर खड्का आफूहरूको मुख्य प्राथमिकता उपत्यकामा खानेपानी सुविधा दिनु रहेको बताएका थिए, तर उनी पराजित भए । ‘हामीले मतदातासँग पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थियौँ,’ उनले भने, ‘नगरको नेतृत्व गर्ने अवसर मिले यो अवश्यै प्राथमिकताको विषय बन्ने थियो तर केही छैन निर्वाचित नेतृत्वमा भएकालाई यश बिषयमा झकझकाइ रहन्छु ।’ नेकपा ‐माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा ‐एकीकृत समाजवादी०ले पनि नगरको खानेपानी अभावलाई चुनावी प्रतिबद्धतामा समेटेका थिए ।

उपत्यकामा पानीको चरम संकट भइरहने हुँदा चुनावताका यहाँ ‘पानी राजनीति’ पनि चल्ने गरेको जानकारहरू बताउँछन् । वर्षौँदेखि खानेपानीको समस्या हल नहुँदा दल र तीनका उम्मेदवारले चुनावमा बाँड्ने आश्वासनप्रति मतदाता भने विश्वस्त देखिँदैनन् । अरु विकासभन्दा अहिलेलाई धारामा नियमित पानी पठाउने स्थानीय सरकार चाहिएको वीरेन्द्रनगर–७ कि धनरूपा पौडेलले बताइन् । उनी भन्छिन्, ‘हरेक चुनावमा आश्वास मात्रै पाइयो, धारामा पानी भने आएन । अब त विश्वास लाग्नै छोडेको छ ।’ निर्वाचनमा विजयी भएका नेतृत्वले नगरका बासिन्दाको आवश्यकतालाई आत्मसात् गर्नुपर्ने उनको भनाइ छ ।

वीरेन्द्रनगरका सबैजसो वडामा खानेपानीको हाहाकार छ । नगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले आलोपालो गरेर पानी वितरण गर्दै आएको छ । ‘झन्डै एक महिनायता स्रोतमै पानी कमी भएको छ,’ संस्थाका कार्यालय प्रमुख डम्बर गौतम भन्छन्, ‘अहिले ९६ घण्टामा एक पटक उपभोक्ताका धारमा पानी पठाइरहेका छौँ ।’ उनका अनुसार उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगरमा करिब २० हजार धारामार्फत खानेपानी सेवा दिँदै आएको छ । नयाँ धाराका लागि चार हजार हाराहारी निवेदन संस्थामा थन्किएका छन् । बढ्दो सहरीकरणले वीरेन्द्रनगनरमा पानीको माग अत्यधिक छ । मागअनुसारको आपूर्ति नहुँदा संकट चुदिँदै गएको हो । पाँच वर्षसम्म स्थानीय जनप्रतिनिधिलाई यही समस्या राखेका मतदाता अहिले फेरि निर्वाचीत नेतृत्वबाट पानी पाउने बिश्वस्त छन् । विगतका कैयन् चुनावमा उम्मेदवारका यस्तै प्रतिबद्धता सुन्दै आएका कतिपय मतदाता आश्वस्त भने हुन नसकेको बताउँछन् ।

स्थानीय तहका उम्मेदवारले भनेजस्तो उपत्यकामा सहजै खानेपानीको समस्या हल गर्न भने सम्भव छैन । नजिकै पानीका स्रोतहरू छैनन् । उपत्यकाको खानेपानी संकट समाधान गर्न एक मात्र विकल्प भेरी नदीको पानी ल्याउनुपर्ने देखिन्छ । भेरी नदीको पानी उपत्यकामा ल्याउने महत्वाकांक्षी योजनाको चर्चा चलेको पनि वर्षौँ भएको छ । स्थानीय सरकारले चाहेर मात्र खानेपानी समस्या हल गर्न सम्भव नभएको यस क्षेत्रका जानकारहरू बताउँछन् । राजधानीको आवश्यकतालाई मध्यनजर गरी खानेपानीको दीर्घकालीन समस्या हल गर्न भेरी नदीबाट उपत्यकामा पानी ल्याउने योजना अघि बढाइसकिएको सुर्खेत उपत्यका खानेपानी उपत्यका संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताए । ‘भेरी पम्पिङ आयोजना निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘विश्व बैंकले यसका लागि लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ ।’ उनका अनुसार यो आयोजना सम्पन्न हुन भने अझै केही वर्ष लाग्ने देखिएको छ । अहिले आयोजना निर्माणपूर्वका प्रक्रियागत कामहरू भइरहेको देवकोटाले बताए ।