

सुर्खेत । एकाबिहानै डोकोमा फलफुल बोकेर घरबाट निस्किन्छन् मनिषा शाही । दुई छोराकी आमा उहाँ उमेरले २७ वर्ष मात्र हुनुभयो । उहाँका एक छोरा १२ वर्षका र अर्का छोरा ८ वर्षका छन । उनीहरु दुबै जना वीरेन्द्रनगरकै एक बोर्डिङ्गमा पढिरहेका छन् । वीरेन्द्रनगर वडा नं। ३ मा कोठा भाँडामा बस्दै आएकी मनिषाका श्रीमान प्यारालाइसिसका कारण विस्तरामै थला परेको तीन वर्ष भइसक्यो । कमाई धमाई गर्ने श्रीमान् नै थलिएप्छि सिंगो घरपरिवारको जिम्मेवारी अहिले उहाँकै काँधमा आइपरेको छ । श्रीमानको औषधि उपचार खर्च, दुई छोराहरुलाई पढाई लेखाइ र लालनपालन, अनि घरव्यवहारको जोहो गर्ने उहाँ डोकामा फलफुलको व्यापार गर्नुहुन्छ ।
सिजनको समयमा दैनिक ५ देखि ७ हजारको फलफुलको व्यापार गर्ने उहाँले खर्च कटाएर मासिक १५ हजारसम्म बचत गर्ने गरेको बताउनुभयो । घरखर्च, छोराहरुको स्कुल फिश, लत्ताकपडा सबै उनको यहि डोके व्यापारले धानेको छ । आर्थिक रुपमा सम्पन्न नभएपनि आफ्नो यहि पेशा र संघर्षमा आपूm सन्तुष्ट रहेको उहाँको भनाई छ । व्यापारका क्रममा दैनिक रुपमा अनेकौं किसिमका मानिससंग उहाँको बोलचाल र व्यवहार हुन्छ । कोहि १० रुपैयाँ बढिनै दिने आउँछन् त कोहि लागेको दर भन्दा कम दिनका लागि किचकिच गर्ने स्वभावका हुन्छन ।
कसैले त बाटोमा व्यापार गर्ने भएर ठलो कुरा गर्ने हैन भन्दै थर्काउँदा मन कटक्क खाएपनि त्यहि व्यापार नभए आफ्नो हातमुख नजोडिने भएकाले त्यस्ता नेपरिएका ग्राहकसंग पनि हाँसेरै बोल्ने र टार्ने गरेको नमीठो अनुभव पनि उहाँले संगाल्नुभएको छ । कोहि ग्राहकले त बारिबाटै टिपेर ल्याएको जस्तो गरेर नमिठो बोल्छन् । त्यस्ता ग्राहक आउदा त झ्याउ लाग्छ, उनले भनिन् त्यस्ता मान्छे नआएर व्यापारै नहुने भएपनि नहोस जस्तो लाग्छ कहिलेकाहि त ।
डोको बोक्दा पनि खुट्टा दुख्छ ३ वर्ष घर बनाउने काममा लेबरको काम गरेकी उहाँको काम गर्दैगर्दा खुट्टामा चोट लाग्यो । अहिलेपनि लामो समय भारी बोकेर यता उति गर्दा उहाँकोे खुट्टा दुख्छ । लेबरी काम गर्दा कतिपय ठेकेदारले दुः ख गरेको पैसा नै नदिएर ठगेर भागेको सम्झिंदा त उहाँ भक्कानिनुभयो । अर्काको लेबरी गर्नुभन्दा दुःखजिलो गरेर आपनै सानोतिनो व्यापार व्यवसाय शुरु गर्न उचित ठानेर व्यापारमा लागेकी मनिषालाई अहिले न त कसैले ठग्ला भन्ने चिन्ता छ न कोहि भाग्ला भन्ने पिरलो ।
आफ्नो काम र कमाइमा हाँसीखुशी चित्त बुझाउने मनिषालाई बाटोको छेउछाउमा डोको राखेर फलफुल बेच्दै गर्दा कहिले प्रहरी त कहिले नगरपालिकाका कर्मचारीले लखेट्दा भने सार्है समस्या हुने गर्छ । सर्टरसहितको कोठा भाडा लिएर साहुनी बनेर व्यापार गर्ने रहर उहाँलाई नभएको त हैन तर त्यो रहरसहितको व्यापार गर्नलाई उहाँसंग चाहिनेजति पैसा भने छैन । व्यापार गर्नलाई उहाँको निष्चित ठाँउ नभएपछि कहिले यरीचोक त कहिले मंगलगढीचोक चहार्दा चहार्दैमा कहिले प्रहरीको त कहिले नगरपालिका कर्मचारीको खेदाइमा पर्नुपर्छ ।
सडक छेउमा फलफूल बेचेको कसुरमा अहिले आफ्ना धेरै तराजु नगरपालिकाको हिरासतमा कैद सजाय भोगिरहेको उहाँलाई झल्झली छ । बाटो छेउछाउमा नबस भन्दै नगरपालिकाका कर्मचारीले किलाकाँटा र तराजुनै खोसेर लग्छन उहाँले दुःखेसो पोख्नुभयो, कि त काम गरी खान दिनु कित भोकै मर भन्नुु । एकातिर व्यापार र ग्राहकसंगको तनाव त छँदै छ त्यहिमाथि नगरपालिकाका कर्मचारीले गर्ने व्यवहारले आफ् त यो देशको नागरिक नै हैन कि जस्तो लाग्ने गरेको उहाँको भोगाई छ ।
आफ्नो दुःख मिहिनेत ले केहि गरी खाउँ भनेर इमान्दारपूर्वक काम गर्दा पनि चोर अपराधि जस्तो व्यवहार नगरपालिकाका कर्मचारीले गर्ने गरेको उहाँको दुःखेसो छ । नगरपालिकामा जनताका प्रतिनिधि चुनिएर आएको भन्नेसम्म थाहा पाउने मनिषालाई तिनै जनप्रतिनिधिले बरु आफुजस्तै डोकोमा बोकेर सडकमा बसेर व्यापार गर्नेहरुका लागि निष्चित ठाउँ तोकिदिएको भए सजिलो हुने उहाँको अपेक्षा छ । बिहान भालेको डाकोसंगै डोकामा फलफुल लिएर हिड्ने मनिषाको खानापिनको निश्चित भने कहिल्यै हँुदैन ।
कतिबेला ग्राहक आउनलान् भन्ने आश एकातिर अर्कोतिर को पुलिस कतिबेला आउँछ र डोको बोकेर भाग्नुपर्ने हो भन्ने त्रास अर्कोतिर । सबैभन्दा ठूलो चिन्ता त दिनभरिमा सबै सामान बिक्रि हुने हो कि नाई बेलका दाल चामल किन्ने पैसा कमाई हुन्छ कि नाई भने झस्कोले दिनभर उहाँलाई सताइ नै रहन्छ । पहिले उहाँका श्रीमान कमाइकाज गर्नका लागि भारत जाँदै गर्दा केटाकेटी सानै भएकाले आफु विहान साँझ घरव्यवहारमै व्यस्त रहने र छोराहरुको स्याहारसुसारमै समय खर्चिने गरेको उहाँको भनाई छ ।
रोजगारीका लागि भारत गएकोपनि वर्षौपछि आउने श्रीमानको कमाई पनि त्यति राम्रो थिएन, जसबाट उनीहरुको घरखर्च चल्नै मुश्किल हुने गथ्र्यो । बिहानदेखि बेलुकासम्म गरिने लेबरी कामबाट आउने दिहाडीले पनि घरखर्चसम्म धौ धौले चल्ने स्थिति थियो । तर त्यो सबै शारिरीक दुःख कष्ट छाडेर व्यापारमा लाग्ने अठोट गरेपछि अहिले आफुलाई धेरै राम्रो नभएप िन सार्है नराम्रो पनि केहि भएको मनिषाको अनुभव छ । दुःख भयो भनेर कसैसंग हात थापेर मागेर खानुपरेको छैन उहाँ गर्वका साथ भन्नुहुन्छ, आफ्नो सबै जोहो यहि डोकोले धानेको छ ।
मनिषाको सिकाइ
अहिलेपनि गाउँघरमा दिदिबहिनीले श्रीमान छोराछोरी र अरु घरपरिवारको भरमा बस्नुपर्छ । सानोतिनो जस्तो भएपनि आफ्नो कमाइ भयो भने कसैले हेप्ने बाटो नरहेको उहाँले राम्ररि बुझ्नु भएको छ । आफ्नो मात्र खर्च होइन पुरै घरपरिवार धान्न सक्ने भएपछि कसैसग हात थाप्नन र कसैको आशमा नबस्नुपर्ने निष्कर्षमा पुगेको मनिषा भन्नुहुन्छ, परिश्रम गर्न सके आत्मनिर्भर भइन्छ । यो सबै दिदिबहिनीले सोच्न सके घरपरिवार अनि समाजनै बलियो हुन्छ ।

सृजना बुढाथोकी । ४ श्रावण २०७९, बुधबार १३:५६