
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक मंगलबार बस्ने भएका छन् ।

प्रतिनिधिसभाकाे बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने दुबै संसदका सचिवालयले जनाएका छन् ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरु गर्ने सम्भावित कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेकाे बताइएको छ ।
अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने लगायत सम्भावित कार्यसूची छ ।
तर, मंगलबार पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन निश्चित छैन । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी राजनीतिक दलहरूले लगातार संसद् बैठक अवरुद्ध गरिरहेका छन् ।
साथै संसद्मा पेश भइसकेको विधेयकमा व्यवसायीसँगको मिलेमतोमा अर्थमन्त्री वाग्लेले आफूखुसी करका दर हेरफेर गरेको र विधेयकका १७ वटा पेज नै गायव गरिएको विषय जोडतोडले उठान् भएको छ ।
यसअघि बसेको संसद्मा रहेका दलका नेताहरूको सर्वदलीय बैठकले पनि संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाउन नसक्दा बैठक सञ्चालन हुन सकेको थिएन ।






खबर बजार । २६ जेष्ठ २०८३, मंगलवार ०९:१३