प्रतिनिधि सभा नियमावली २०७९ पारित

काठमाण्डौ । प्रतिनिधि सभा नियमावली २०७९ पारित भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको हो ।

नियमावली पारित भएसँगै विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ । यसअघि सत्ता पक्षका केही सांसदहरूले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए । त्यो संशोधन प्रश्तावको आलोचना भएपछि अन्तत: संशोधन फिर्ता भएको हो ।

कार्यव्यस्था परामर्श समितिलाई बढीभन्दा बढी शक्तिशाली बनाएर सभामुखको तजबिज अधिकार कटौती गर्ने गरी संशोधन राखिएको थियो । सांसदहरू राजन केसी, सञ्जय गौतम, रामहरि खतिवडा, अम्मरबहादुर थापा, भानुभक्त जोशी, रेखा यादव, रुपा सोसी चौधरी, नरायणी शर्मालगायतले संशोधन राख्नुभएको थियो ।

छलफलपछि उठेका प्रश्नहरूको जवाफ दिँदै नियमावाली मस्यौदाकार समितिको तर्फबाट सांसद रमेश लेखकले थप एक उपनियम थपेर परामर्श समितिको बैठक अधिवेशन चालु रहेका अवस्थामा नियमितरूपमा र अन्य समयमा आवश्यकताअनुसार बस्ने भनी थप गरिने जानकारी दिनुभयो ।