सुर्खेत । कर्णाली प्रदेश स्तरीय सुशासन सम्मेलन मंगलबारबाट वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ। यो सम्मेलन दुई दिन हुनेछ।
सहकर्मी समाज नेपाल, सुशासनमा नागरिक सहभागिता कार्यक्रमको संयोजनमा “समिक्षा, सम्बाद र समाधान” भन्ने मुल नारा सहित २०७९ भदौ २८ र २९ गते वीरेन्द्रनगर सुर्खेतमा हुने प्रदेश स्तरीय सुशासन सम्मेलन २०७९ ले संघीयताको पहिलो पांचवर्षे कार्यकालमा भएका सुशासनका गतिविधिहरुलाई सुक्ष्म तरिकाले सरोकारवालाहरुले समिक्षा, विश्लेषणका आधारमा भविष्यका लागि गर्नुपर्ने कामका वारेमा सम्मेलनका निष्कर्षहरु सिफारिस गरी कर्णाली प्रदेशमा सुशासनको विद्यमान अवस्थामा ब्यापक सुधार ल्याउन योगदान गर्ने विश्वास लिइएकोछ।
कर्णाली प्रदेश सुशासन सम्मेलनमा सशासन सवलीकरणमा भएका राम्रा अभ्यासहरु र सुधार गर्नुपर्ने विषयहरुको पहिचान गरी आगामी अवधिका लागि सामुहिक सुधार योजना समेत सहभागितामूलक छलफल र अनुभव आदान प्रदान विधिबाट निचोड निकाल्ने प्रयास गरिने। साथै समुदाय स्तरका नागरिकहरु, पालिका, जिल्ला तथा प्रदेशस्तरमा कार्यरत संघसंस्था र सरोकारवालाहरु, स्थानीय सरकारका प्रमुख तथा उप प्रमुखहरु, प्रदेश सरकारका मन्त्रीहरु तथा कर्मचारीहरु, प्रदेशसभाका सांसदहरुको उपस्थितिमा विभिन्न सत्रहरु सञ्चालन हुने सहकर्मी समाज नेपाल कार्यक्रम संयोजक हरी उपाध्यायले जानकारी दिए।
सहकर्मी समाज नेपालले युरोपियन युनियनको आर्थिक सहयोग र अन्य संस्थाहरुको सहकार्यमा सञ्चालित सुशासनमा नागरिक सहभागिता परियोजना अन्तर्गत विगत ३ वर्षदेखि निरन्तर कर्णाली प्रदेश स्तरीय सुशासन सम्मेलनलाई यसपाली दलित महिला केन्द्रको सहकार्य र कर्णाली प्रदेश सुशासन केन्द्रको समन्वयमा आयोजना हुदैछ । २ दिनसम्म चल्ने यस सम्मेलनबाट आएका निष्कर्षहरुलाई दस्ताबेजीकरण गरि आगामी दिनमा प्रसारण र वितरण समेत गरिने योजना रहेकोछ।
यस्तै कार्यक्रममा कर्णाली प्रदेशमा रहेर सुशासनका क्षेत्रमा प्रत्यक्ष रुपमा कार्यरत सरोकारवालाहरु वीच सिकाइ आदान प्रदान गर्ने, सुशासनमा कामगर्दा देखापरेका समस्या तथा चुनौतीहरुमाथि छलफलगरी समाधानका उपायहरु पहिल्याउन संयूक्त पहल गर्ने, योजना तथा नीतिनिर्माण प्रक्रियामा स्थानीय सरकार, प्रदेश सरकार र सरोकारवालाहरु वीचको सहकार्य, सम्बाद र सहभागितामूलक पद्धतिलाई संस्थागत गर्न पहल गर्ने, संघीयताको पहिलो ५ वर्षे कार्यकालका समग्र राम्रा अभ्यास, सिकाई र चुनौतीहरुको समिक्षा मार्फत आएका निष्कर्षहरुलाई दस्तावेजीकरण प्रकाशन तथा वितरण गर्ने जस्ता उदेश्यहरु रहेको संयाेजक उपाध्यायले बताए ।
खबर बजार । २७ भाद्र २०७९, सोमबार २०:५८