सहुलियत पसल आजदेखि सञ्चालनमा आउने , चिनी र घिउ छैन

सुर्खेत । दशैँ/तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालन भएका छन् । आजदेखि खुलेका सहुलियत पसल आउँदो कार्तिक १५ गतेसम्म चल्नेछन् ।

देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार यी सुपथ पसलमा चिनी र घिउबाहेक खाद्यान्न तथा दूधजन्य वस्तुको बिक्रीवितरण हुनेछ । कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान बाट एकीकृत रुपमा सुपथ पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

काठमाण्डौ उपत्यका, पोखरा र सुर्खेतमा अनलाइन सेवा पनि उपलब्ध हुनेछ ।

अनलाइन सेवा भएका ठाउँमा उपभोक्ताको माग अनुसार घरमै सहुलियतमा सामग्री पुर्याइनेछ । सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ । चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ ।

साल्ट ट्रेडिङले नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने भएको छ । त्यस्तै दुग्ध विकास संस्थानले दशैँ तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने डीडीसीका महाप्रबन्धक सञ्जिव झाले बताउनुभयो । कम्पनीले दशैँका लागि झण्डै तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी पनि गरेको छ ।