
सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि २ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणका साथै समग्र विपद् व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाइँले खबरबजारलाई जानकारी दिनुभयो ।
साथै, बैठकले प्रदेशको १० वर्षे शिक्षा क्षेत्र योजना स्वीकृत गर्ने महत्त्वपूर्ण निर्णय गरेको उहाँले बताउनुभयो ।
पछाईका अनुसार, मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयद्वारा परिमार्जन सहित तयार पारिएको दीर्घकालीन रणनीतिक योजना “शिक्षा क्षेत्र योजना २०८३-२०९२” लाई पनि औपचारिक रूपमा स्वीकृत गरेको छ ।
यो योजना स्वीकृत भएसँगै आगामी १० वर्षसम्म कर्णाली प्रदेशको शैक्षिक सुधार, विद्यालयहरूको भौतिक पूर्वाधार विकास र गुणस्तरीय तथा प्राविधिक शिक्षाको पहुँच विस्तारका लागि मार्गप्रशस्त भएको छ ।




खबर बजार । १६ भाद्र २०८३, मंगलवार ११:०९