धनगढी । स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर ८ दिनदेखि अनशनमा रहनु भएका डा. गोविन्द केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ । केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गर्नु भएको छ । अस्पतालले विशिष्टिकृत अस्वतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ । धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना हुनुभएको थियो ।अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको पनि अस्पतालले जनाएको छ । केसीको उपचारमा अस्पतालले शुद्ध पानी, नर्मल स्लाइन, रिंगर ल्याक्टेट मात्र प्रदान गरिएको प्रवक्ता डा. कमरले जानकारी दिनु भयो । चिकित्सकीय टोलीबाट नियमित स्वास्थ्य परीक्षण गराई राखेको र मनिटरबाट शरीरको अक्सिजन, मुटुको घड्कन र रक्तचाप अनुगमन गरी राखेको अस्पतालले जनाएको छ ।
"
खबर बजार । ३ आश्विन २०७९, सोमबार १४:४७