न्यून चापीय प्रभावको कारण अझै केही दिन मौसम बदली रहने

काठमाडौं । नेपालमा अझै केही दिन मौसममा बदली हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार फेरी अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएकोले मौसममा बदली हुने भएको हो ।

विभागको बुलेटिनअनुसार नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने सम्भावना छ ।

यसैगरी कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ ।

शनिबार देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली भई देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै कर्णालीर सुदुरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।