
काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराएको छ ।
नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका रुबेन ट्रमपेलमानले ३ र जन निकोल लोफ्टी–एटनले २ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायो । नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए ।
यो जितसँगै नेपाल सात देश सम्मिलित आईसीसी विश्व कप क्रिकेट लिग–२ मा २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

खबर बजार । २ फाल्गुन २०७९, मंगलवार १७:०७