काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खोल्नुपर्ने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै सरकारले दिने आकस्मिक बिदाका दिन बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्नुपर्ने व्यवस्था गरेको हो । अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएस जस्ता अत्यावश्यक बैंकिङ्ग सेवा नियमित गर्नुपर्ने छ ।
आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा नियमित गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसअघि हिजो बसेको मन्त्रिपरिषद् बैठकले पनि बिदाका दिन अत्यावश्यक कार्यालय खोल्ने निर्णय गर्दै कुन–कुन कार्यालय खोल्ने भन्ने निर्णय गर्ने जिम्मा गृहमन्त्रालयलाई दिएको थियो । पछिल्लो समय सरकारले दिने सार्वजनिक बिदा धेरै हुँदा सेवा लिन समस्या भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।
खबर बजार । १२ फाल्गुन २०७९, शुक्रबार १६:२३