सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये १९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ ।