नेपाली क्रिकेट एक तह माथि पुगेको छ: अध्यक्ष चन्द

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आज शुक्रवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले यस्तो बताउनुभएको हो । उहाँले विश्व कप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेको रूपमा क्यानले लिएको बताउनुभयो ।

अध्यक्ष चन्दले क्रिकेट सङ्घले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटरको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभई खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रूपमा क्रिकेटलाई राख्नुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष चन्दले सरकारले खेलाडीहरूको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभयो । आउँदा दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । उहाँले बिहीवार यूएईसँगको खेलमा कीर्तिपुरमा ३० हजार बढी दर्शकहरू पुगेको बतउनुभयो ।