भोलि शनिवार र पर्सि आइतवार पनि वर्षाको सम्भावना

काठमाण्डौ । केही दिनदेखि वर्षा गराउने प्रणाली देशैभरि फैलिएकाले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ ।

यो प्रणालीका कारण भोलि शनिवार र पर्सि आइतवार पनि वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार गण्डकी, कर्णाली र लुम्बिनीका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित बदली हुने सम्भावना छ ।

यसैबीच हिउँदे वर्षाले किसानलाई राहत मिलेको छ । वर्षाले मकै छर्ने तयारीमा रहेका किसानलाई राहत मिलेको छ । गएको असोज महिनामा परेको पानी त्यसयता हिउँदको समयमा परेको थिएन । पानी परेसँगै किसानले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफूल अन्य बालीलाई राहत मिलेको छ ।

यस्तै चैते वर्षाले मधेसको जनजीवनमा राहत भएको छ । मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्प वर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् । यसपालि पूरै हिउँद पानी नपरि बितेका बेला चैतको सुरुमै सिमसिमे पानी परेको हो ।