सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले शुक्रबार भएको घटनाको छानबीनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । शनिबार बसेको सर्वदलीय बैठकले घटनाको छानबीनका लागि समिति गठन गरेको हो ।
बैठकले असार ३१ गते शुक्रबार गाउँपालिकामा करार कर्मचारीको सन्दर्भमा भएको घटनाबारे सत्यतथ्य छानवीन समिति गठन गर्ने सर्वदलीय र सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।
यस्तै, पालिकाले करार सेवामा कार्यरत कर्मचारीहरुले गरेको आन्दोलन र उक्त आन्दोलनबाट थप क्षति हुन नदिन सुरक्षाकर्मीहरुले उक्त परिस्थितिलाई नियन्त्रण गर्ने क्रममा घाइते भएका कर्मचारी, सुरक्षाकर्मी, सर्वसाधारणहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
त्यस्तै, स्थानीय तहहरुमा करार सेवामा कार्यरत कर्मचारीहरुलाई हटाइएको विषयले स्थानीय शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, विकास निर्माण लगायतका विषयहरुमा गम्भिर प्रभाव पर्ने भएको भन्दै जिल्लास्थित राजनीतिक दलले आफ्नो भातृ संघ संगठनलाई संयमित रहन प्रतिवद्ध गराउनेसमेत अपिल गर्नुपर्ने निर्णय गरेको छ ।
करार सेवाबाट हटाउँदा सार्वजनिक सेवा प्रवाह प्रभावित तथा हुन सक्ने विवाद, समस्या, द्वण्द्वलाई मध्यनजर गर्दै करार सेवामा कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नहुँदासम्मको निरन्तरता दिन जिल्लास्थित सबै स्थानीय तहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
गुराँसले करार कर्मचारीलाई सेवाबाट हटाउने निर्णयबाट भएको आन्दोलनलाई संयमित, मर्यादित तथा काबुभन्दा बाहिर जान नदिइ थप भौतिक तथा मानवीय क्षति हुन नदिनका लागि जिल्ला प्रशासन कार्यालय, दैलेख तथा सुरक्षा निकायहरुले गरेको समन्वयात्मक भूमिकाको उच्च मूल्याङ्कनसहित धन्यवाद ज्ञापन गर्दै भावी दिनहरूमा यस्ता घटनाहरु हुन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
हाल स्थानीय तहमा करार सेवामा कार्यरत कर्मचारी सम्बन्धी समस्या समाधान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौंले गरेको परिपत्र, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको निर्देशन, सम्बन्धित स्थानीय तहको दरवन्दी संचरना अनुसार करार सेवाका कर्मचारीको उचित व्यवस्थापन गर्नका लागि सम्बन्धित स्थानीय तहका प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित सरोकारवाला निकाय सहितको बैठकको आयोजना गर्नका लागि जिल्ला समन्वय समिति प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
खबर बजार । ३२ असार २०७९, शनिबार १७:४२