

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनु भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सन्यासको घोषणा गर्नु भएको हो । उहाँले अन्तर्राष्ट्रिय क्रिकेटलाई पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताउनु भयो ।
ज्ञानेन्द्र मल्लले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गर्नु भएको थियो । यू–१५ टोलीबाट क्रिकेट खेल्न थाल्नु भएको उहाँले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गर्नु भएको थियो । उहाँले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नु भएको हो ।
सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध डेब्यू गर्नु भएका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु भयो ।
सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहनु भएको थियो ।
२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले कप्तानीको जिम्मेवारी पाउनु भएको थियो ।
तर ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ क्यानबाट अनुशासनको कारबाही स्वरुप कप्तान पद गुमाउनु भएको थियो ।
ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय खेलमा ८७६ र ४५ वटा टी–२० आई खेलमा ८८३ रन बनाउनु भएको छ ।

खबर बजार । १९ श्रावण २०८०, शुक्रबार १५:३३